Thursday, September 29, 2016

गल्कोटको परिचय (introduction of galkot)

बागलुङदेखि करिब ३६ किलोमिटर टाढा बागलुङकै अग्लो पडाड घुम्टेको काखमा सुन्दर डाँडाकाडाहरूले घेरिएको १६ गाविसहरुको संयुक्त नाम हो, गल्कोट ।
मध्यम खालको हावापानी नागबेलीझै बगिरहने गौदी र दरम खोला अनि तामा, फलाम, सीसा तथा स्लेट (ढुंगा) खानीहरुको सम्भावित ऐतिहासिक रूपमा परिचित ठाउँको नाम हो गल्कोट ।
गल्कोटको बारेमा केही लेख्दा त्यस ठाउँको नाम कसरी गल्कोट रहन गयो भन्ने कूरा आउँछ । चौबीसे राज्यहरुको यौटा अंश गल्कोटमा वि.सं. १६३१ मा पर्बत राज्यबाट जितारी बम मल्ल सर्वप्रथम गल्कोट आएपछि वर्तमान हटिया गाविस ५ मा अवस्थित गोलो टोपी आकारको टाकुरामा गई कोत्धर वा भनौ सानो दरबार बनाइ राज्य गरी बसोबास गरेका थिय र त्यस ताका यस क्षेत्रलाई गोलकोत भनिन्थ्यो । हाल शब्दको अपभ्रंश भई गोलकोतबाट गल्कोट भन्न थालिएको कुरा स्थानीयबासी बताउँछन् । हाल त्यस दरबारलाई खड्काथान भन्ने गरिन्छ ।
पर्यटकीय दृष्टिकोणले अतिनै महत्वपूर्ण यस क्षेत्रमा जिल्लाको अग्लो पहाड घुम्टे र शिखरमा रेहेको सिद्धबाबाको मन्दिर, गाजाको धुरी र साथमा रहेको गाजा दह, हटियाको नीलुवा उपत्यका, कोटको फेदमा रहेको छहरा, गाईघाट छहरा, हरिचौरमा रहेको ऐतिहासिक राजदरबार, मोतिमारेको दह, रीधाको बिशाल चौर, काडेबासको थलेपोखरा, उच्कको घुम्टो पाण्डवखानीको घाटुनाच, हटियाको नेवारहरुको लाखेनाच, तारा हिल, अमरभूमी र अर्गलमा मानाने भूत पोल्ने र सीस्नो खोस्ने मेला, घुम्सेलीको एकादशी मेला आदिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ । र गल्कोटलाइ अझै सबल बनाऊन सकिनेमा दुई मत छैन । गल्कोटमा रहेका हरेक गाविसहरुमा घना जंगल रहेको हुनाले जडिबुटीको पनि प्रशस्त सम्भावना रहेको छ ।
राजनीतिक हिसावले हेर्दा बागलुङमा तीन क्षेत्र छन र गल्कोटलाई पनि तीनै क्षेत्रमा विभाजन गरिएको छ । जिल्लाको मध्यभागमा रहेको गल्कोट पहिला सदरमुकाम थियो । तर पछि केही व्यक्तिहरुको चलाखिपनले सदरमुकाम गल्कोटबाट पूर्व ३६ किलोमिटर टाढा कालिका मन्दिरको काखमा रहेको छ । गल्कोटको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा राजा आनन्द बम मल्लको समयदेखि राजा जितारी बम मल्लको समयसम्म स्वतन्त्र राज्यका रुपमा रहेको पाइन्छ ।
बागलुङ जिल्लाकै सबैभन्दा अग्लो १०,३९३ फिट उचाई भएको घुम्टे पहाड गल्कोटको शोभा हो भने त्यसको टुप्पोबाट हेर्दा गल्कोटको चारैतिरबाट पहाडले घेरेको बिचभागमा समथल टार, भिराला पाटा ९बारी० र अन्य पहाडहरुका साथै खोलानाला, छहरा र हरिया भिरपाखा पहराले सजिएको चित्ताकर्षक प्राकृतिक दृश्यावली भएको कचौरा जस्तै लाग्ने उपत्यका देखिन्छ ।
गल्कोट प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपले धनी हुँदाहुँदै पनि गल्कोटको विकास किन आजसम्म हुन सकेनत ? यसको पनि विश्लेषण गर्नु आवश्यक छ ।
पहिलो कुरा भनेको बहुदल आएपछि राजनीतिक हिसाबले क्षेत्र निर्धारण गर्दा गल्कोटलार्इ तीन टुक्रा बनाए । बागलुङका तिनै क्षेत्रमा गल्कोटलाई पारियो यसले गर्दा आफ्नो जनप्रतिनिधि गल्कोटबासीले चुन्न पाएनन् र गल्कोटको नेतृत्व गरि राष्ट्रिय राजनीतिमा गल्कोटका जनप्रतिनिधी जान पाएनन् । यहाँ भएका सम्पूर्ण साधन र स्रोतको बारेमा तथा गल्कोटको विकासको बारेमा कूरा उठाउने व्यक्ति केन्द्रमा भएन त्यसकारण पछि पर्‍यो । गलकोटबासीहरुको चाहाना अबको राज्य पुनसंरचना तथा क्षेत्र निर्धारण गर्दा गल्कोटलाई एउटै बनाइनु पर्छ ।
दोस्रो धार्मिक वा मनोररञ्जनात्मक दृष्टिले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सक्ने स्रोतहरू हामीसँग थूप्रै छन तैपनि हामी त्यसको प्रचार प्रसार गर्न सकिरहेका छैनौं । यहाँ पाइने जडिबुटी, सुन्दर हरियाली डाँडाकाडा, खोलानाला, कला संस्कृति, विभिन्न जातजातिको रीतिरिवाज भेषभुषा, कलात्मक मन्दिर यस्तै विभिन्न विशेषताले भरिपूर्ण छ तर यसलाई गल्कोटबासीले त्यति चासो दिएको अवस्था छैन ।
त्यसैले उपलब्ध साधन र स्रोतको भरपुर प्रयोग गरी आ-आफ्नो तर्फबाट पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने ठाउँको संरक्षण तथा प्रचारप्रसार गर्नु ज़रूरी छ । अर्कों तेस्रो महत्वपूर्ण विषय के छ भने हामीले उपयुक्त जनशक्ति निर्माण गर्न नसक्नु हो र भएको जनशक्ति पनि रोजगारीको सिलसिलामा विभिन्न राष्ट्रहरुमा गएको अवस्था छ। कति बिस्थापित भइसके भने कतिपय जाने क्रममा छन, मतलब पहिलेका गल्कोटबासी अहिले पाखा लागेको अवस्था छ र साँच्ची भन्नुपर्दा गल्कोटको विकास विस्थापित भएर स्थापित भएर अगाडि बढ्नु ज़रूरी छ ।
किनकी आजकाल धेरै जसो गलकोटेहरु बागलुङ, पोखरा, चितवन र काठमाडौं विस्थापित भएका छन् र माया चाँहि गल्कोटकै छ भन्छन । यदी गल्कोटको माया छ र गल्कोटको विकास चाहने हो भने गल्कोटमा गई लगानीको सम्भावना भएका स्रोत तथा साधनहरूमा लगानी गरी तथा ब्यापार व्यवसाय गरि गल्कोटका युवाहरुलाई गलकोटमै रोजगारी सृजना किन नगरेको त भन्ने प्रश्न उठ्छ।
त्यसकारण अब यदी गल्कोट विकास गर्ने हो र गल्कोटलाई आत्मनिर्भर, आर्थिक दृष्टिकोणले सम्पन्न, पर्यटकीय दृष्टिकोणले अगाडि, शैक्षिक हिसाबमा साक्षर बनाउने हो भने आवश्वयक जनशक्ति उत्पादन गरी यहाँ भएका जडिबुटी प्रसोधन गर्ने, खेतीयोग्य जमीनमा वैज्ञानिक कृषि प्रणाली लागू गरी व्यवसायिक कृषि खेती गर्ने, पर्यटकीय स्थलहरूको उचित संरक्षण र प्रचारप्रसार गर्ने, अग्ला पहाड़हरूमा ट्रेकिङको योजना तर्जुमा गर्ने, जनतालाई आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, यसका लागि आवश्यक तालिमको पनि व्यवस्था गर्ने प्राविधिक शिक्षण संस्थाहरूको स्थापना वा विकास गर्ने र माननीय स्रोतलाई उपलब्ध स्रोत र साधनको उपयोग गरी आफ्नो व्यवसाय सञ्चालन गर्न आत्मजागरण तालिमको व्यवस्था गर्ने, स्वदेशको व्यवसाय अत्यन्तै सानो भएपनि आत्मनिर्भर हुन्छ भन्ने धारणा विकास गर्ने अन्त्यमा देश अहिले संघीयता संस्थागत गर्न जोडतोडले लागि परेको अवस्थामा नयाँ सीमांकन गर्दा गल्कोट नटुक्राइकन एक निर्वाचन क्षेत्र निर्धारण गराउने पहल गर्नुपर्दछ । यो अहिलेको आवश्यकता हो ।

0 comments:

Post a Comment